ब, व र ओ अक्षर छुट्ट्याउँदै गरेको डाँफे

ब कि व? अनि ‘ओ’ को प्रयोग

नेपाली भाषामा ब र व लाई लिएर धेरै जना झुक्किने गर्दछन्। यसको एउटा मुख्य कारण लेख्दा फरक भए पनि बोल्दा झन्डै उस्तै सुनिनु हो। विकास, विद्रोह, कवि, वन र रवि जस्ता शब्दमा ‘व’ लेखिए पनि उच्चारण ‘ब’ जस्तै सुनिन्छ। कहाँ ‘ब’, कहाँ ‘व’ र कहाँ ‘ओ’ लेख्ने छुट्ट्याउन केही नियमहरू छन्।

सामान्यतया नेपालीमा संस्कृतबाट आएका तत्सम शब्दहरूमा मूल भाषाकै रूप कायम रहन्छ भने नेपालीका आफ्नै तद्भव र आगन्तुक शब्दहरूमा प्रायः ‘ब’ लेखिन्छ।

ब

प्रयोग

‘ब’ को प्रयोग

आधा ‘म्’ का पछाडि

अम्बर, बिम्ब, चुम्बक, सम्बन्ध, चुम्बन।

बे-, बद- वा बि- बाट सुरु हुने शब्दहरू

बेफाइदा, बेपत्ता, बेवास्ता, बेखबर, बेहोस, बदनाम, बदमास, बदनियत, बिछोड, बिजोर, बिजोग, बिखर्ची, बिसन्चो।

‘ब’ उच्चारण हुने तद्भव र आगन्तुक शब्दहरू

अखबार, कबुलियत, बकुल्लो, बतास, बन्दी, बख्खु, बखत, बापत, बकस, बाकस, बन्दुक, सुब्बा।

‘ब’ उच्चारण हुने धातु र क्रियापदहरू

बढ्, बित्, बिर्स, बेहोर्, बन्यो, बग्छ, बच्ला, बितेछ, बिर्सन्छन्, बढेथ्यो।

‘ब’ उच्चारण हुने अव्ययहरू

अब, तब, जब, बजे, बरु, बरं, बेर, ब्यारे।

केही तत्सम शब्दहरूमा

निबन्ध, बध, बद्ध, बन्धु, बाल, बाहु, ब्रह्म, ब्रह्माण्ड, बृहत्, बृहस्पति, शब्द, स्तब्ध।

व

प्रयोग

‘व’ को प्रयोग

‘सम्’ उपसर्गपछि

संविधान, संवाद, संवेदना, संवर्धन।

वान्, वत्, वती, विद्, वर र त्व मा टुङ्गिने शब्दहरू

धनवान्, बलवान्, पुत्रवत्, आत्मवत्, पुत्रवती, सौभाग्यवती, भगवती, प्राणीविद्, विज्ञानविद्, गुरुवर, मान्यवर, नेतृत्व।

‘व्य’ आएका शब्दहरू

अव्यय, व्यवहार, गन्तव्य, द्रष्टव्य, व्यापक, व्यग्र, व्यापार, काव्य, व्याख्या, व्याप्ति।

आवट, उवा, वाला, वार र वारी प्रत्यय लागेका शब्दहरू

सजावट, बनावट, हरुवा, भगुवा, घरवाला, खेतवाला, जिम्मेवारी, उम्मेदवार।

नेपालीमा ‘व’ उच्चारण हुने शब्दहरू

खुवा, गँवार, जुवाइँ, तावा, देवर, धुवाँ, पुवा, पालुवा, वल्लो, वहाँ, कछुवा, कुवा, वरिपरि।

‘ब’ उच्चारण भए पनि ‘व’ लेखिने केही तत्सम शब्दहरू

अनुभव, कवि, गर्व, जीवन, दानव, पर्व, प्रवाह, मानव, वर्ण, वर्णन, वायु, वसन्त, वाक्य, वातावरण, विश्वविद्यालय।

ओ

प्रयोग

‘ओ’ को प्रयोग

केही तद्भव र आगन्तुक शब्दहरूमा

ओखर, ओखती, ओठ, ओरालो, ओहदा, ओइरो, ओथारो, ओदान, ओझेल, ओतप्रोत, ओडार।

केही क्रियापदमा

ओढ्छ, ओर्लिन्छ, ओभायो, ओराल्यो, जाओ, खाओ, गाओ, बनाओस्, देओस्।

केही तत्सम शब्दहरूमा

ओमकार, ओजस्वी, ओज।