हलन्त र अजन्त छुट्ट्याउँदै अक्षरको खुट्टा काट्न खोजिरहेको डाँफे

खुट्टा काट्ने कि नकाट्ने?

— हलन्त र अजन्त शब्द

लेख्ने क्रममा अन्तिमको अक्षरको खुट्टा काट्नुलाई हलन्त भनिन्छ भने खुट्टा नकाट्नुलाई अजन्त भनिन्छ। खुट्टा काट्नु र नकाट्नुले पनि शब्दको अर्थमा फरक पार्छ। तसर्थ, लेख्दाखेरि हलन्त र अजन्तलाई पनि ध्यान दिनुपर्छ। हलन्त र अजन्तको प्रयोगसम्बन्धी केही नियमहरू यस्ता छन्:

खुट्टा काट्ने

हलन्त

्

व्यञ्जन वर्णमा अन्त्य हुने धातुहरू

भन्, गर्, हिँड्, पढ्।

द्वितीय पुरुषवाचक अनादर क्रियापदहरू

तँसँग आउने: भनिस्, गइस्, गर्छस्, नबोलेस्।

तृतीय पुरुष, बहुवचन र आदरार्थी क्रियापदहरू

खान्छन्, भन्छन्, गर्छन्, हेर्छन्, गर्दैनन्।

मान्, वान् र वत् प्रत्यय लागेका शब्दहरू

बुद्धिमान्, श्रीमान्, बलवान्, गुणवान्, मित्रवत्।

धेरै प्रयोग हुने केही हलन्त शब्दहरू

विद्वान्, भगवान्, महान्, अर्थात्, साक्षात्, पश्चात्, कदाचित्, हठात्, किञ्चित्, परिषद्।

खुट्टा नकाट्ने

अजन्त

अ

एकाक्षरी सर्वनाम र अव्ययहरू

म, तँ, न, त।

सामान्य मूल अव्ययहरू

बाहिर, भित्र, आज, तिर, जब, तब, निर।

सामान्य आदरार्थी आज्ञार्थ क्रियापदहरू

तिमीसँग आउने: राख, पढ, गर, बुझ, उचाल।

अन्त्यमा ‘न’ आउने अकरण क्रियापदहरू

हुँदैन, गर्दैन, भन्दैन, हेर्दिन।

अन्त्यमा ‘छ’ आउने समापक क्रियापदहरू

वाक्यको अन्त्य गरी अर्थ पूरा गर्ने: जान्छ, गर्छ, भन्छ, हेर्छ, खेल्छ।

असमापक क्रियापदहरू

वाक्यको बीचमा आएर टुङ्गो नलगाउने: पढ्न, लेख्न, हेर्न, डुल्न।

अनुकरणात्मक शब्दहरू

मुसुक्क, झुलुक्क, टुप्लुक्क, स्वाट्ट।