
जोड्ने कि नजोड्ने?
— पदयोग र पदवियोग
जोडेर लेख्ने कि छुट्ट्याएर लेख्ने अर्थात् पदयोग गर्ने कि पदवियोग गर्ने भन्ने कुराले पनि नेपाली भाषीहरूलाई उत्तिकै सताउने गर्दछ। शब्दको लेखाइ मिलेको छ तर पदयोग र पदवियोग मिलेको छैन भने पनि त्यसलाई अशुद्ध मानिन्छ। केही नियमहरू याद गरियो भने पदयोग र पदवियोग सजिलै छुट्ट्याउन सकिन्छ:
जोडेर लेख्ने
पदयोग
+उपसर्ग लागेर बनेका शब्दहरू
सचेत, दुर्गम, अभिमान, परिस्थिति, बदनाम, बेकाम।
प्रत्यय लागेर बनेका शब्दहरू
मानवीय, सामाजिक, नेपाली, घरेलु, पाल्पाली, यतिन्जेल।
सबै विभक्तिहरू
हरिले, घरदेखि, देशको, रुखमा, धाराबाट, छोरालाई।
सबै नामयोगीहरू
टेबुलमाथि, घरबाहिर, तँसित, ऊतर्फ, कोठाभित्र, तिमीबाहेक, त्यसअन्तर्गत, भनेबमोजिम।
सबै समस्त शब्दहरू
समास भई बनेका: दाजुभाइ, ज्यानमारा, आमाछोरी, वनभोज, भान्साघर, चन्द्रमुखी, राष्ट्रपति।
द्वित्व भएर बनेका शब्दहरू
आंशिक वा पूर्ण दोहोरिएका: पानीसानी, भातसात, सरसल्लाह, आआफ्नो, झैझगडा, आनीबानी, ऐँचोपैँचो, हस्याङफस्याङ।
संयुक्त क्रिया र क्रियापदको मूल रूप
खाइसक्यो, गइहाल्यो, आइपुग्यो, गर्थ्यो, लेख्नेछ, भनिछाड्छु।
नकारात्मक क्रियापद
नखाऊ, लेख्दैन, भएन, गर्दिनँ।
केही संयोजकहरू
किनभने, यद्यपि, तथापि, किनकि, तापनि।
नजोडी लेख्ने
पदवियोग
↔विभक्तिपछि आउने नामयोगी
मदेखि बाहेक, उसका अगाडि, घरको पछाडि।
सबै निपातहरू
लौ न नि, साथी पो रहेछ, तिमी नै गर, नरिसाऊ न।
लागि, निम्ति र दुई विभक्ति एकै ठाउँमा आउँदा
देशका लागि, मेरा निम्ति, हाम्रा लागि।
अपूर्ण र पूर्ण पक्ष जनाउने सहायक क्रियापदहरू
पढ्दै छ, खाँदै थियो, गएको छ, लेखेको थियो, भन्न थाल्यो।
संयुक्त क्रियापदका बिचमा निपात आउँदा
गर्नु त पर्छ, हार्नु नै छ आखिर, जानु त पर्ने हो।
सङ्ख्या र त्यसपछि आउने एकाइ, ओटा वा जना
एक सय, दुई जना, अढाइ किलो, तीन मुठा।
व्यक्ति, जाति वा स्थान बुझाउने शीर्ष नामहरू
भक्तपुर जिल्ला, गुरुङ समाज, फेवा ताल, नारायणी नदी, सन्थाल जाति।
विशेषण र नाम सँगसँगै आउँदा
नगदे बाली, सेतो हिमाल, असल मान्छे, कालो मन, शुभ समाचार।