
शब्दको अन्त्यमा ह्रस्व कि दीर्घ?
शब्दको अन्त्यमा ह्रस्व–दीर्घ छुट्याउन लिङ्ग, शब्दवर्ग, अर्थ र प्रत्यय विशेष उपयोगी हुन्छन्। दैनिक लेखाइमा सबैभन्दा धेरै काम लाग्ने ढाँचाहरू यही भागमा छन्।
ह्रस्व हुने
सामान्य पुलिङ्गी नाम र नाता
दाइ, भाइ, बाबु, भिनाजु, गुरु, गोरु, नाति, पनाति, ज्वाइँ, पति, जेठाजु, पोइ, फुपाजु, बराजु। अपवाद: सम्धी, हात्ती र स्वामी।
‘उ’ मा टुङ्गिने निर्जीव नाम
गाउँ, ठाउँ, मलेखु, साँखु, टेकु, ढल्कु, घिउ, घाउ, धनु, पिँडालु, आलु, मासु, स्याउ, केराउ, बीउ, लिस्नु।
‘लाई’ र ‘हरू’ बाहेकका धेरै अव्यय
पछाडि, माथि, पर्सि, बर्सेनि, अगाडि, अघि, मुनि, अनि, पनि, अस्ति, भोलि, खोइ, चाहिँ, चोटि, देखि, निम्ति, वरिपरि, वारि, पट्टि, फेरि।
‘नु’ र ‘छु’ मा टुङ्गिने क्रियापद
हुनु, गर्नु, हिँड्नु, खानु, लेख्नु, पढ्छु, जान्छु, गर्छु।
–नु, –आइ, –आलु, –याइँ, –आउ, –आरु र –एलु प्रत्यय
लेखाइ, पढाइ, मायालु, दयालु, मूर्ख्याइँ, बसाइ, गराइ, फट्याइँ, घेराउ, चुनाउ, सिकारु, पक्राउ, हटारु, घरेलु, दुधालु, विषालु, यात्रु।
–ति, –धि, –नि, –टि र –पि मा टुङ्गिने शब्द
गति, नीति, कृति, क्षति, निधि, दधि, ध्वनि, अग्नि, सृष्टि, वृष्टि, लिपि, तथापि, यति, उति, कति, जति, त्यति।
केही तत्सम शब्द
रुचि, त्रुटि, कोटि, मणि, कान्ति, मति, प्रकृति, तिथि, सारथि, सिद्धि, बुद्धि, वृद्धि, विधि, अग्नि, शनि, मुनि, लिपि, यद्यपि, रश्मि, अरि, अञ्जलि, कलि, छवि, कवि, कृषि, ऋषि, दृष्टि, पुष्टि, तुष्टि।
दीर्घ हुने
सामान्य स्त्रीलिङ्गी नाम
दिदी, बहिनी, आइमाई, रानी, स्वास्नी, भैँसी, भाउजू, फुपू, सासू, उर्वशी, पत्नी, माइजू, जेठानी, पातली, गाई।
पेसा, जाति र थर
ज्यामी, डकर्मी, पादरी, प्रहरी, माली, विद्यार्थी, व्यापारी, पुजारी, सिकर्मी, ज्यापू, किराँती, थारू, लिम्बू, राई, माझी, छेत्री, अधिकारी, सुवेदी, उप्रेती, रेग्मी, लोहनी, पुरी, प्रसाईं, भट्टराई, गिरी।
मानबोधक र आदरसूचक पद
गुरुज्यू, कविज्यू, मन्त्रीज्यू, सचिवज्यू, सुनिलजी।
सङ्ख्यावाचक शब्द
सत्तरी, साठी, दुई, असी, एकासी, चौसट्ठी।
स्त्रीलिङ्गी विशेषण
ठूली, गोरी, काली, सानी, मोटी, छुच्ची, होची, अग्ली।
सर्वनाम
ऊ, यी, ती, उनी, तिनी, तिमी, हामी।
स्थान, नदी र भाषा
गुल्मी, उर्दू, अङ्ग्रेजी, जापानी, मैथिली, हिन्दी, कास्की, कैलाली, ठिमी, सप्तरी, कर्णाली, राप्ती, मुम्बई, सेती, गण्डकी, कोशी।
‘एर’ को अर्थ दिने क्रियारूप
लेखी, भनी, गरी, लागी, सोधी, खाई, गई।
–वती र –वी प्रत्यय
रूपवती, गुणवती, सौभाग्यवती, मेधावी, तपस्वी, यशस्वी।
‘चाहिँ’ बाहेक –ही मा टुङ्गिने शब्द
कोही, केही, यही, त्यही, काहीँ, सोही।
–अरी र –तरी मा टुङ्गिने अव्यय
यसरी, त्यसरी, जसरी, सरासरी, कस्तरी, सुस्तरी, त्यस्तरी।
विशेषणबाट बनेका केही भाववाचक नाम
जवानी, गरिबी, अमिरी, चाकरी, चोरी, इमानदारी, चलाखी।
नियमले नछुट्याएमा
यी ढाँचाहरूले धेरै शब्द छुट्याउन सहयोग गर्छन्, तर नेपालीमा अपवाद पनि छन्। निश्चित हुन नसक्दा मानक शब्दकोश हेर्नुहोस्।
